तपाईँ सुन्दै हुनुहुन्छः

यो वर्षभित्र आइटी पार्क बनाउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटी पार्क स्थापना गर्ने बताउनुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँदै काठमाडौँमा यो वर्ष भित्रै आइटी पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको हो ।

कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान महासङ्घ) ले आजदेखि काठमाडाँैमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधारहरू तयार पार्नु पर्ने बताउनुभयो । सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटी पार्क नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उहाँले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटी नीति, एआई नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिनुभयो । “डिजिटल फ्रेमवर्कको उद्देश्य पुरा गर्न सूचना प्रविधिका पूर्वादारहरू सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो,“यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटी पार्क बनाउँछौँ ।”

त्यस्तै, मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । साथै यसै वर्ष भित्र ७ सय ५३ पालिकामा फोर जी सबैका घर घर पुर्‍याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिनुभयो । साउथ एसियामै एआई को नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुरुङले भन्नुभयो,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो मार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । जसमा प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश मार्फत कानुन ल्याएर विदेशमा समेत लगानी गरि उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको बताउनुभयो । यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले क्यान जस्ता नीजि क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राख्नुभयो ।

क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डे अनुसार सरकारले अध्यादेश मार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताउनुभयो । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव  दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button