तपाईँ सुन्दै हुनुहुन्छः

जातीय विभेदको घटनाको निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सर्लाही बरहथवा १० मा भएको जातीय विभेदको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आकस्मिक र शून्य समयमा अधिकांश सांसदहरूले सर्लाहीको बरहथवाका सत्यचन्द्र कुमार राम (चमार) र नेहा रौनियारबिच अन्तरजातीय विवाह भई विवाह दर्तासमेत भइसकेको अवस्थामा उनीहरूका विरुद्ध झुटा मुद्दा दर्ता गराई छुटाउन लागिपरेको भन्दै निष्पक्ष छानबिनको माग गर्नुभयो ।

सांसदहरूले सर्लाहीको घटनाले ६० लाख दलित जनतालाई दमन गर्न खोजेको आरोप समेत लगाउनुभयो । सांसदहरूले राज्यले शक्तिको दुरुपयोग गरी अन्तरजातीय विवाह छुटाउन लागि परेको र अन्तरजातीय विवाहलाई निरुत्साहित गर्न खोजेका भन्दै यसमा संलग्नलाई कारबाहीका लागि माग गर्नुभयो ।

बैठकमा सांसदहरूले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले जाजरकोटको भूकम्प पीडितको आवास निर्माणको अनुदान समयमा नै उपलब्ध गराउने, भूकम्प र बाढीले भत्किएका पूर्वाधार निर्माण गर्न स्रोत सुनिश्चितताका लागि भइरहेका प्रयास लगायतका विषयमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button