‘निजी विद्यालयलाई सरकारीकरण गर्नु आवश्यक छैन’
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/image-47-1024x683.png)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन ।”
मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । संविधानले तीनखम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।”
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/image-46-1024x683.png)
मुलुकको आर्थिक समृद्धिलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री कार्कीले राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
प्याब्सनका पूर्व अध्यक्ष टीकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गर्नुभयो ।
उहाँले युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्