तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविरबाट २१ सय बढी वृद्धवृद्धा लाभान्वित

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले सञ्चालन गरेको १० दिने निःशुल्क आँखा शिविरमा २१ सय ८ जना वृद्धवृद्धाले लिए सेवा लिएका छन् ।

चौदण्डीगढी नगरपालिका तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा गत माघ १२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन भएको निःशुल्क शिविर पालिकाको प्रत्येक वडामा सञ्चालन गरिएको थियो । छिमेकी पालिका बेलका नगरपालिकाको वडा नम्बर २ र ४ मा समेत आयोजना गरिएको थियो ।

शिविरबाट ३ सय ११ जना मोतिया बिन्दुका बिरामीको छनोट गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताउनुभयो । उनीहरूको नगरकै वडा नम्बर ६ सातधारेमा रहेको कोभिड अस्पतालमा निःशुल्क अप्रेसन गर्न थालिएको छ । अप्रेसन माघ २३, २४ र २५ गरि तीन दिन सञ्चालन हुने छ । शिविरमा बिरामीहरूको लागि आवश्यक चस्मा (पावर चस्मा) न्यूनतम मूल्यमा उपलब्ध गराइने समेत बताइएको छ ।

गाउँमै निःशुल्क आँखाको शिविर सञ्चालन र मोतिया बिन्दुका बिरामीको अप्रेसन आफ्नै ठाउँमा हुँदा आफूहरू निकै खुशी भएको एक बिरामीले बताए ।

चौदण्डीगढी नगरपालिकाले पछिल्लो समय हरेक बर्ष तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ सँगको संयुक्त आयोजनामा निःशुल्क आँखाको शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा २२ सय ३५ जनाको निःशुल्क आँखाको जाँच गरेको थियो भने उक्त शिविरबाट २७३ जना मोतियाबिन्दुका बिरामीको छनोट र २२५ जनाको निःशुल्क अप्रेसन गरेको थियो । भने आर्थिक बर्ष २०८०/०८१ मा २६ सय जनाको निःशुल्क आँखाको जाँच गरेको थियो जस मध्ये ४ सय ९२ जना मोतियाबिन्दुका बिरामीको छनोट गरेकोमा ३ सय १९ जनाको निःशुल्क अप्रेसन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button