जीर्ण अवस्थामा रहेको ३१ वर्ष पुरानो विद्यालयको भवन भत्कियो
बीरगंज । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–बडा नम्वर २ मा रहेको नेरामाबि नवगावाको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ ।
१ हजार १ सय ६४ विद्यार्थी अध्ययनरत सो विद्यालयको पुरानो भवन विद्यार्थी नभएको समयमा हिजो मङ्गलवार आफै भत्किएको हो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्साले २०५१ सालमा निर्माण गरेको चार कोठे विद्यालय भवन मर्मतसम्भार नभएर जीर्ण अवस्थामा रहेको थियो । निर्माण कार्य अधूरै रहेको सो चार कोठे भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टर पनि भएको थिएन । अधूरो भवनमा विगतमा अध्यापन कार्य हुँदै आएको प्रधानाध्यापक गगनदेव प्रसाद यादवले बताउनुभयो ।
पछिल्लो समयमा विद्यालयमा थप पाँच वटा ब्लक निर्माण भएपछि मावि तहसम्मको अध्यापन सोही ब्लकमा हुने गरेको र पुरानो भवन खाली रहेको उहाँले जानकारी दिनुभयो । सोही भवन मङ्गलवार भत्किएको प्रअ यादवले बताउनुभयो ।
विद्यालय भवन निर्माण कार्य हुँदै गर्दाको समयमा कमसल खाले निर्माण सामग्री प्रयोग भएको र भवन पूर्णरूपमा तयार नगरिएको कारण भत्किएको स्थानीयले बताएका छन् ।
सोमबार सरस्वती पूजा गरिएको र हिजो मङ्गलवार भएकोले मूर्ति सेलाउने काम नभई बुधवारका लागि सारिएकोले विद्यार्थीहरू नभएको कारण कुनै मानवीय क्षति नभएकोको प्रधानाध्यापक यादवले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्