समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको हो : मन्त्री गुरुङ
भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर सरकारले मौजुदा कानुन सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।
देशलाई आवश्यकता परेको बेला सरकारले संवैधानिक व्यवस्था अनुरुप नै अध्यादेश जारी गरेको बताउनुभयो ।
भ्रष्टाचार अन्त्य गर्न र कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको बताउँदै सञ्चार मन्त्री गुरुङले यो अध्यादेश संसदबाट नै पारित गर्ने हुनाले अध्यादेशले संसद्लाई छल्ने कुरा नआउने बताउनुभयो ।
उहाँले व्यवस्था, राजनीति र नेता बदलिए जस्तै समय अनुसार नीति पनि बदल्नु पर्ने बताउनुभयो । मन्त्री गुरुङले कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएको बताउनुभयो ।
अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताउँदै उहाँले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले ढिलासुस्ती र अनियमितता अन्त्य गर्न कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याएको बताउनुभयो ।
मन्त्री गुरुङले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने बताउँदै केही अन लाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखिएकाले त्यसको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको प्रस्ट पार्नुभयो ।
अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताको प्रत्याभूत हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने माग आम नागरिकहरूकै रहेको बताउनुभयो ।
मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेस गरिएको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति नियन्त्रण विधेयकको आवश्यकता रहेको बताउनुभयो ।
सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन बिस्तार गरिरहेको बताउनुभयो ।उहाँले सबै सरकारी कार्यालय एवं वडा तहसम्म इगभर्नेन्स लागु गर्ने बताउनु भयो । उहाँले एआईको कृत्रिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादन वृद्धि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको भविष्य उज्ज्वल रहेको भन्दै आइटील र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद दुर्लभ थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरलाई कर्मक्षेत्र बनाएर रफत सञ्चार क्लबले गरेको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार टीकाराम यात्री, दबाब साप्ताहिकका सम्पादक अमर भुजु र स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मध्यपुर अस्पतालका अध्यक्ष डा. रविना प्रधानाङ्गलाई पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुशीलबन्धु थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्