लुम्बिनी प्रदेशमा एक वर्षमा ८४ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान

बाँके । लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षमा ८४ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरिएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार, १२ जिल्लाका किसानहरूले उन्नत जातका पशु उत्पादन र खर्च बचतका लागि कृत्रिम गर्भाधान सेवा लिएका हुन्।
मन्त्रालयका अनुसार ८४ हजार ५९७ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको छ, जसमा ४३ हजार ४३६ वटा गाई, ३९ हजार ९३४ वटा भैँसी, र १,२२७ वटा बाख्रा छन्। व्यावसायिक पशुपालनलाई प्रवर्द्धन गर्न र उन्नत जातका पशु उत्पादन गर्न कृत्रिम गर्भाधानको प्रयोग उल्लेख्य रूपमा वृद्धि भइरहेको मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार, कृत्रिम गर्भाधान गराउँदा दूध उत्पादनमा वृद्धि हुने, उन्नत जातका बाच्छा–बाच्छी जन्मने, र किसानको खर्च घट्ने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ।
प्रदेशभरि सबैभन्दा धेरै कृत्रिम गर्भाधान गराइने जिल्ला रुपन्देही हो। यहाँ १८ हजार ५५ वटा गाई, १३ हजार ६४ वटा भैँसी, र ५८७ वटा बाख्रामा गरी कुल ३१ हजार ७०६ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको छ।
अन्य जिल्लाहरूमा गरिएको कृत्रिम गर्भाधानको तथ्याङ्क अनुसार नवलपरासीमा १७,०९६ वटामा ८,३२४ गाई, ८,२७५ भैँसी, ४९७ बाख्रा,बर्दियामा ८,२०२ वटामा ४,४१० गाई, ३,७९२ भैँसी, १० बाख्रा,दाङमा ४,५३० वटामा २,३३८ गाई, २,१४८ भैँसी, ४४ बाख्रा,अर्घाखाँची मा ६,००१ वटा मध्य १,५७५ गाई, ४,४२१ भैँसी, ५ बाख्रा,पाल्पामा ३,४७३ वटा मध्य १,७१५ गाई, १,७०६ भैँसी, १२ बाख्रा,कपिलवस्तुमा ६,३७६ वटा ३,२२५ गाई, ३,१२८ भैँसी, २३ बाख्रा,बाँकेमा ३,०७९ वटा मध्य १,८०९ गाई, १,२४९ भैँसी, २१ बाख्रा ,गुल्मीमा ३,०८० वटा मध्य १,६१५ गाई, १,४६१ भैँसी, ४ बाख्रा, रोल्पामा १,०३६ वटा मध्य गाई, ३७६ भैँसी, ७ बाख्रा गरी ५१९ ,प्युठानमा २२६ गाई, २५७ भैँसी, ८ बाख्रा गरी ४९१ वटा र रुकुम पूर्वमा ८ गाई, १७ भैँसी, ९ बाख्रा गरी ३४ वटामा कृत्रिम गर्भाधान गरिएको छ।
कृषि मन्त्रालयका अनुसार, कृत्रिम गर्भाधान प्रविधिले किसानलाई आर्थिक रूपमा फाइदा पुर्याइरहेको छ। उन्नत जातका गाई र भैँसीको उत्पादन बढ्दै जानुका साथै दूधको गुणस्तर र मात्रामा सुधार आउँदा किसानहरूको आम्दानी पनि वृद्धि भएको छ।
लुम्बिनी प्रदेशमा कृत्रिम गर्भाधानको लोकप्रियता बढ्दै गएको देखिन्छ। विशेषगरी व्यावसायिक पशुपालन गर्ने किसानहरूले उन्नत नस्लका पशु उत्पादनका लागि यो प्रविधिको प्रयोग गरिरहेका छन्। सरकारी निकायहरूले कृत्रिम गर्भाधान कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ, जसले किसानको उत्पादन वृद्धि गर्न र प्रदेशको दुग्ध उत्पादनलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ।






प्रतिक्रिया राख्नुहोस्