उत्सवको रुपमा मनाइयो लुम्बिनी प्रदेशको आठौँ दिवस

दाङ । लुम्बिनी प्रदेशको आठौँ दिवस उत्सवको रुपमा मनाइएको छ ।
प्रदेश सरकार र प्रदेशसभाले संयुक्त कार्यक्रमको आयोजना गरेर आज स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो ।
प्रदेशसभा परिसर राप्ती उपत्यका (देउखुरी)मा भव्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयहरुले स्टलहरू राखेर सरकारले गरेका कामहरू सार्वजनिक गरिएको छ ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिइएको छ । सो अवसरमा वक्ताहरूले प्रदेशलाई बलियो बनाउन संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुने भन्दै संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताउनुभयो । उहाँले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनताभन्दा माथि कोही नहुनेमा बताउनुभयो । “जनताको शासन हो । यहाँ जनता नै जनार्दन हुन”, उहाँले भन्नुभयो, “जन भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।”
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमानदारिता, सुशासन, सेवा प्रवाह एवं स्थायित्व प्राप्त सरकारबाट मात्रै दिन सकिने उल्लेख गर्नुहुँदै प्रदेश सरकार तीन तहका सरकारका बीचमा पनि अब्बल बन्न सक्छ भन्ने उदाहरण हाम्रा धेरै कामहरूले दर्शाएको बताउनुभयो
मुख्यमन्त्री आचार्यले ७ वर्षको अवधिमा प्रदेशसभा र प्रदेश सरकारबाट करिब ११० वटा कानुनहरु निर्माण जानकारी दिनुहुँदै यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमाभित्र रहँदै प्रदेशका काम कारबाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानुनी एवं वैधानिक आधार तयार भएको बताउनुभयो । प्रदेश तहमा अझैँ धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको भन्नुहुँदै मुख्यमन्त्री आचार्यले सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले सङ्घीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वय सहितको सह–सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने विश्वास व्यक्त गर्नुभयो । “प्रदेश सरकारका लागि समग्र लुम्बिनी प्रदेश साझा घर हो । यसभित्र बसोबास गर्ने सबै नागरिक हाम्रा दाजुभाइ दिदीबहिनी हुन्”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “१०९ वटै स्थानीय सरकार हाम्रा लागि समान हक राख्ने हाम्रा आफ्नै अवयवहरू हुन् । यिनको बीचमा समान विकासका अवसर, बजेट, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिँचाइ, उत्पादन, रोजगारी, उद्यम, पर्यटन समेतका क्षेत्रमा स्थान विशेषका आधारमा विशिष्ट एवं पृथक् प्राथमिकता तर समान न्यायका साथ हाम्रो विकासको विनियोजन गर्नुपर्ने आवश्यकतालाई समेत हामीले राम्ररी मनन गरेका छौँ।”
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह सङ्घीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “संघीय संरचनामा प्रदेश तह झनै नयाँ हो । पहिला कुनै न कुनै हिसाबले संघीय र स्थानीय सरकार थिए । वास्तविक सङ्घीयताको अभ्यास गर्ने थलो प्रदेश तह हो”, उहाँले भन्नुभयो , “संघीय शासन प्रणालीलाई वास्तविक रुपमा आत्मसाथ गर्न जरुरी छ ।”

नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धता चाहिने बताउनुभयो ।
“समृद्ध प्रदेशको लक्ष्य प्राप्ति गर्न प्रदेश सरकार सफल भएको छ । अझ यसलाई अघि बढाउन सबैको बीचमा साझा प्रतिबद्धता र प्रयासको खाँचो छ”, उहाँले भन्नुभयो, प्रदेशलाई कानूनी रुपमा बलियो बनाउन केही ऐनहरु अझैँ बनाउन बाँकी छन् । ती ऐनलाई पुरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा छ ।”
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल सावित गर्न अझैँ ऐतिहासिक कामहरूलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

“प्रदेशको सुरुवाती दिनलाई सम्झँदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहासिक काम भएका छन् । इतिहासलाई जोगाई राख्नुपर्ने छ”, उहाँले भन्नुभयो,“प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता विषयहरू प्रदेशले टुङ्ग्याएर सङ्घीयताको सही कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धी हो ।”
एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताउनुभयो ।उहाँले राजनीतिक अस्थिरता हटाउँदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको बताउनुभयो ।

प्रदेश स्थापना दिवसमा ११ वटा विभिन्न झाँकीहरू प्रदर्शन गरिएको थियो । जसमध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हुन सफल भएका छन् ।
से अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरू राखेका थिए ।






प्रतिक्रिया राख्नुहोस्