कोहलपुर मेयर कप सम्पन्न
बाँके । बाँकेको कोहलपुर नगरपालिकालाई खेलकुदको केन्द्र बनाउने लक्ष्यसहित आठौँ कोहलपुर मेयर कप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ सम्पन्न भएको छ। नगरपालिकाले स्थानीय विद्यालय स्तरका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरेको हो।

गत बुधबारदेखि कोहलपुर नगरपालिका वडा नं. १ स्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न विद्यालयका २,१६७ खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालयले सर्वाधिक पदक जित्दै च्याम्पियन बन्न सफल भयो।
प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालयले १५ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो। गोरखा युनाइटेड माविले ८ स्वर्ण, ७ रजत, ८ कास्यसहित दोस्रो स्थान प्राप्त गर्यो भने त्रिभुवन माविले ७ स्वर्ण, ५ रजत, ८ कास्य पदकसहित तृतीय स्थान हासिल गर्यो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः ७५ हजार, ६५ हजार, ५५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन्।
कृष्ण माध्यमिक विद्यालयकी सुवेरा मल्ल यस वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। उहाँले १०० मिटर दौड, ४×१०० रिले, ४×४०० रिले, र सर्ट पुटमा गरी चार स्वर्ण पदक जित्नुभयो । साथै, २०० मिटर दौडमा रजत पदक जित्दै सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र, र शिल्ड प्राप्त गर्नुभयो।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताको समापन समारोहमा बोल्दै कोहलपुरलाई खेलकुद हब बनाउने प्रतिबद्धता जनाउनुभयो।
यस्तै उपप्रमुख संगीता सुवेदीले खेलकुद राष्ट्रका लागि र स्वास्थ्यको लागि खेलिने हुँदा कोहलपुर नगरपालिकाले खेलकुद अनि शिक्षा दुबैलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट्स, तथा चेस खेल समावेश गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्