तपाईँ सुन्दै हुनुहुन्छः

‘बालबालिकामाथि अनलाइन यौन हिंसा रोक्न समन्वय गरेर काम गरौँ’

काठमाडाैं ।बालबालिकामाथि अनलाइनका माध्यमबाट बढ्दो यौन हिंसा रोक्न राज्यका संयन्त्रका साथै इन्टरनेट सेवाप्रदायकहरूले पनि जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिइएको छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशील सिविन नेपालले शुक्रबार र शनिबार काठमाडाैंमा आयोजना गरेको दुईदिने कार्यशालामा सहभागीहरूले बालबालिकाहरूमाथि भइरहेको अनलाइन याैन हिंसा रोक्न राज्यले गरिरहेको प्रयास प्रभावकारी बनाइनुपर्ने र इन्टरनेट सेवाप्रदायकहरूले पनि जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय इन्टरनेटमा बालबालिकाहरूले सानै उमेरमा सहज पहुँच पाउँदा उनीहरू याैन हिंसाको गम्भीर जोखिममा रहेकाले सचेतना अभियानलाई बढावा दिनुपर्नेमा सहभागीहरूको जोड थियो ।

नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक अवस्थीले अनलाइन माध्यमबाट हुने याैन हिंसा रोक्न अभिभावक र बालबालिकालक्षित सचेतना अभियानलाई देशव्यापी बनाइनुपर्ने बताए ।

अवस्थीले बालबालिकाहरूमाथि अनलाइनका माध्यमबाट हुने हिंसाका घटनाको अनुसन्धानलाई ब्युरोले उच्च प्राथमिकता दिइरहेको बताए । पीडितहरू साइबर ब्युरोमा उजुरी दिन जाँदा प्रहरीबाट पर्याप्त सहयोग नपाइने गरेको सहभागीहरूको गुनासोप्रति प्रवक्ता अवस्थीले जनशक्ति र संरचना थपेर साइबर ब्युरोलाई प्रभावशाली र गुनासोरहित बनाउने प्रयास भइरहेकाे बताए ।

अवस्थीले प्रविधिको विकाससँगै अपराध पनि बढेकाले सामाजिक सञ्जाल चलाउँदा उच्च सावधानी अपनाउनुपर्ने पनि बताए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले साइबर अपराधको बढ्दो जोखिम कम गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले समन्वय गरेर काम गर्नुको विकल्प नरहेको बताए । उनले एक जना पनि बालबालिका हिंसामा पर्न नहुने गरी सबैले चनाखो हुनुपर्नेमा जोड दिए ।

इन्टरनेट सेवाप्रदायक संस्था ‘इस्पान’का प्रमुख सुवास खड्काले इन्टरनेटबाट हुने अपराध न्यूनीकरणका लागि सेवाप्रदायकहरूले पनि प्रयास गरिरहेको र आगामी दिनमा यसलाई अझै परिस्कृत पार्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिकामाथि हुने हिंसा रोक्न संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र विकसित गर्न पहल भइरहेकाे जानकारी दिए ।

सिविनका अध्यक्ष माधव प्रधानले समन्वयात्मक रणनीतिका साथ काम गरे बालबालिकालाई अनलाइन याैन हिंसाबाट जोगाउन सकिने धारणा राखे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button