तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीको बेलहिया नाकाबाट ६ किशोरीको उद्धार 

रुपन्देही । माइती नेपाल आवधिक गृह भैरहवा र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त पहलमा ६ जना किशोरीहरूलाई बेलहिया नाकाबाट उद्धार गरिएको छ । 

भैरहवास्थित माइती नेपालको कार्यालयले भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भन्दै त्यसतर्फ लैजाँदै गरेको अवस्थामा छ किशोरीहरूको उद्धार गरी  अभिभावकलाई जिम्मा लगाएको छ ।

रुपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका किशोरीहरूलाई आफन्त बनेर १० हजार भारतीय रुपैयाँ तलब पाउने भन्दै भारत लैजाँदै गर्दा बाटोमा सोधपुछ गर्दा उनीहरुलाई शङ्का लागेर भैरहवा फिर्ता गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बताउनुभयो ।

झाडुपोछा तथा बिरामीको हेरचाहको काममा लगाउने भन्दै १५, १७ र १८ वर्ष उमेरका किशोरीहरू अभिभावकको सल्लाहमै त्यसतर्फ जान लागेको उनीहरूले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजानका आधारमा ती किशोरीहरूलाई भारततर्फ लैजाने प्रयास गरिएको र राजस्थानमा एक जनाले त्यहाँ पुगेपछि व्यवस्थापन गर्ने भनिएको उनीहरूले बताएका छन् । जानका लागि टिकटबापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको पनि उनीहरूले जानकारी गराएका छन् । 

किशोरीहरूलाई प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा माइती नेपालको आवधिक गृहमा राखेर अभिभावकको जिम्मा लगाइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button