भरतपुर महानगरपालिकामा १६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने

भरतपुर । विश्व क्यान्सर दिवसको अवसरमा यही माघ २२ गतेदेखि भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी सुरु गरिने अभियान फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
खोप अभियान विद्यालयहरूमा सञ्चालन गरिनेछ भने विद्यालय जान नसकेका किशोरीहरूका लागि सम्बन्धित वडाका स्वास्थ्य संस्थामा खोप केन्द्र व्यवस्था गरिनेछ।
अभियानअन्तर्गत विद्यालय जाने १६ हजार १ सय ६९ जना छात्राहरू तथा ४ सय २३ जना विद्यालय बाहिर रहेका किशोरीहरू गरी जम्मा १६ हजार ५९२ जनालाई खोप दिइनेछ।
खोप अभियानका लागि भरतपुरमा १९३ वटा खोप केन्द्र स्थापना गरिनेछन् भने २०१ जना स्वास्थ्यकर्मी र ४०२ जना स्वयंसेवकको सहभागितामा खोप अभियान सञ्चालन गरिनेछ।
भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव प्रसाद भट्टले एजपीभी भाइरसका कारण हुने सङ्क्रमणले पाठेघरको मुखको क्यान्सर निम्त्याउने उच्च जोखिम उल्लेख गर्नुहुँदै यस रोगबाट बच्नका लागि बाल्यकालमै खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो ।
“किशोरीहरूलाई समयमा नै खोप प्रदान गरिनु पाठेघरको क्यान्सर नियन्त्रणको दिशामा ठूलो सफलता हुनसक्छ”, उहाँले भन्नुभयो “यस अभियान सफल बनाउन अभिभावक, विद्यालय, स्वास्थ्य संस्था र समुदायको पूर्ण सहयोग आवश्यक रहेको छ।”







प्रतिक्रिया राख्नुहोस्