तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा ३ लाख किशोरीलाई एचपिभी खोप दिइने

बाँके । महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको अवस्थामा नेपाल सरकारले एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालन गर्दै छ। 

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यो खोप अभियान अन्तर्गत देशभरका किशोरीहरूलाई खोप प्रदान गरिने लक्ष्य राखिएको छ।

लुम्बिनी प्रदेशमा मात्रै ३ लाख किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन हूँदैछ। यस क्रममा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत २ लाख ४३ हजार ११९ जना किशोरीहरू र विद्यालय बाहिर रहेका १९ हजार किशोरीहरूलाई एचपिभी खोप लगाइनेछ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले पाठेघरको मुखको क्यान्सर विश्वभर चौथो प्रमुख क्यान्सर भएको जानकारी गराउनुभयो। 

उहाँका अनुसार हरेक वर्ष विश्वभर ५ लाख ७० हजार महिलामा यो क्यान्सर देखिन्छ, जसबाट ३ लाख १९ हजार महिलाको मृत्यु हुने गर्छ। नेपालमा मात्र हरेक वर्ष २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ, जसबाट १ हजार १ सय १३ महिलाको ज्यान जाने गरेको छ।

प्रदेश खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा.वासुदेव उपाध्यायका अनुसार एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने उल्लेख गर्नुहुँदै फागुन महिनामा भिआरआई प्रविधिमार्फत थप परीक्षण गरिने बताउनुभयो।

स्वास्थ्य मन्त्री खेम बहादुर सारुले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाको स्वास्थ्य सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।  “स्वस्थ आमा हुनु भनेको परिवारका सबै सदस्यको स्वास्थ्य सुधार हुनु हो।” उहाँले भन्नुभयो, “यस खोप अभियानले लुम्बिनी प्रदेशका हजारौँ किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन मद्दत पुग्नेछ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button