नगर सरसफाई गर्ने नौलो तरिका : सबैभन्दा धेरै फोहोर टिप्नेले जिते ५५ हजार पुरस्कार
रुपन्देही । रुपन्देहीको बुटवलमा नगर सरसफाईका लागि नयाँ तरिका अपनाइएको छ। यहाँ सरसफाई चेतना वृद्धिका लागि विशेष प्रतियोगिता आयोजना गरिएको छ, जसमा फोहोर टिप्ने दौड प्रतियोगितामा सबैभन्दा धेरै र छिटो फोहोर टिप्नेलाई पुरस्कार दिइन्छ।
फोहोर टिप्ने प्रतियोगितामा इन्द्र थारु विजेता बनेका छन्। उनले नगद ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले उक्त पुरस्कारको चेक हस्तान्तरण गरे।
यो प्रतियोगिता क्लोथ एन्ड फुड बैंक नेपालले सरसफाइ र जनचेतना वृद्धिका लागि आयोजना गरेको थियो। बुटवलको कालिकापथस्थित क्लब डेनेभोबाट सुरु भएको दौड प्रतियोगिता तीनकुने चोक, इट्टाभट्टी, सब्जी मण्डी, ट्राफिक चोक हुँदै भुड्कीचोक, राजमार्ग चौराह र कालिकान पथ भएर पुनः क्लब डेनेभोको अगाडि आएर समापन गरिएको थियो।
प्रतियोगितामा विजेता इन्द्र थारुले १ घण्टाको समय सीमा भित्र ५० मिनेट २१ सेकेन्डमा ७ किलो ६ सय ग्राम फोहोर संकलन गरे। यसैगरी, आशिष थापाले दोस्रो स्थान प्राप्त गर्दै नगद ३० हजार पुरस्कार, जबकि तेस्रो स्थान प्राप्त गरेका अजय पाण्डे क्षेत्रीले नगद १५ हजार पुरस्कार पाए।
सार्वजनिक सरसफाइका लागि यो नयाँ तरिकाको प्रतियोगिता आयोजना गरेको बारेमा क्लब एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले उत्साहजनक सहभागिता भएको र समुदायलाई एकताबद्ध बनाउने प्रयास गरिएको बताए। बुटवल नगरप्रमुख खेलराज पाण्डेले भने युवाहरूको सक्रिय सहभागिताले सकारात्मक सोच र परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको मूल्याङ्कन र विजेता छनोटका लागि नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा पत्रकार दिनेशकुमार श्रेष्ठ र डिबी सुस्लिङलगायतका सदस्यले काम गरेका थिए।
यस प्रतियोगिताले बुटवलमा सरसफाइको चेतना र स्वच्छता व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्