असल अभ्यासलाई निरन्तरता दिऔँ: सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अधिवेशन प्रारम्भ भएलगत्तै प्रतिनिधिसभाका सदस्यलाई स्वागत गर्नुहुँदै उहाँले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिइने भएकाले सदनमा व्यक्त विचारलाई परिष्कृत गर्दै नीति निर्माणसम्म पुगिने धारणा व्यक्त गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “संसद्मा विवाद, छलफल र बहस हुनु नौलो होइन तर हाम्रा निचोड सहमतिको सङ्गमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।”
सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह हुने बताउँदै उहाँले परस्पर सम्मान, सहकार्य र एकताबाट नै मुलुकका विद्यमान समस्या निरुपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”
प्रतिक्रिया राख्नुहोस्