तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेद्वारा बिर्तामोडमा पाँच दिवसीय अनुष्ठानको उद्घाटन

भद्रपुर, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज बिर्तामोड ५ स्थित नवनिर्मित गायत्री माता मन्दिर परिसरमा पाँच दिवसीय धार्मिक अनुष्ठानको उद्घाटन गर्नुभएको छ ।

मन्दिरमा गायत्री माताको प्राण–प्रतिष्ठाको सन्दर्भ पारेर पाँच दिवसीय अनुष्ठान आयोजन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अनुष्ठानको उद्घाटनअघि कलशमा गंगाजल अर्पण गरेपछि शुरु भएको शोभायात्रामा सभामुख घिमिरे सरिक हुनुहुन्थ्यो ।

आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एक सय जना बटुकसमेत शोभायात्रामा सहभागी बनेका थिए । गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुनेछ । 

स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको सहयोगमा अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिरमा माघ २१ गते विधिपूर्वक गायत्री माताको प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रोनक वंशलले बताउनुभयो । 

माताको प्राण–प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button