२४ औँ आहा! रारा पोखरा गोल्ड कपमा ३ विदेशी सहित १२ टिम सहभागी हुने
पोखरा । पर्यटकीय नगरी पोखरामा यही माघ २२ गते देखि सुरु हुने २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा ३ विदेशी सहित १२ टिम सहभागी हुने भएका छन्।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा उज्विकिस्तानको ब्ल्याक बुल्स एफ.सी., भारतको थन्डर नर्थ यूनाइटेड क्लव, वेलायतको ब्रिगेड ब्वाइज क्लब सहित १२ टिम सहभागी हुने भएको क्लबले जनाएको छ ।
प्रतियोगितामा उज्विकिस्तानबाट पहिलो पटक टोली सहभागी हुने भएको क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लव, चर्च ब्वाइज युनाइटेड क्लब, सङ्कटा फुटबल क्लव, एनआरटि फुटबल क्लव, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लव र आयोजक सहारा क्लव सहभागी हुने भएको उहाँले जनाउनुभयो ।
फागुन ३ सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न १ करोड ४२ लाख २० हजार खर्च हुने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । उक्त प्रतियोगिताबाट १ करोड ५१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको उहाँले जनाउनुभयो । १२ दिन चल्ने प्रतियोगिताबाट ८ लाख ८० हजार बचत गर्ने क्लबले लक्ष्य राखेको छ ।
‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्य अनुरुप फुटबल मार्फत सहारा क्लब सामाजिक सेवा निरन्तर क्रियाशील रहेको महासचिव अधिकारीले जनाउनुभयो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरू रहनु भएको छ ।
फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालकहरूको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको अध्यक्ष बरालले बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्