तपाईँ सुन्दै हुनुहुन्छः

साना योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौं : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । 

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताउनुभयो ।

“योजनाहरू छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ । प्रदेश सरकारले अव टुक्रे योजना बनाउँदैन”, उहाँले भन्नुभयो,“मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ  । व्यक्तिपिच्छे आउने योजनाहरूमा सरकारले बजेट राख्दैन ।” 

उहाँले आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताउनुभयो । “संस्थागत रुपमा आएका योजनाहरूलाई अघि बढाउँछौँ । बजेट माग्न मन्त्रालयमा भिड लाग्न पर्दैन, पहुँच र पावर पनि चाहिँदैन । आवश्यकता र तथ्याङ्कको आधारमा सरकारले बजेट तर्जुमा गर्छ”, उहाँले भन्नुभयो, “योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको हो । हरेक खाले विकृतिहरू रोक्न सरकार निर्मम भएर अगाडी बढिरहेको छ ।”

उहाँले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर सही ढंगले कार्यान्वयनको गति बढाएको बताउनुभयो  । 

बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले ७० प्रतिशतभन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनुभयो ।

“प्रदेश सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएका छौँ । चालु वर्षको बजेट सही ढंगले कार्यान्वयनमा ध्यान दिएको छ । यो बीचको सुशासनको पाटोलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार नागरिकहरूको भरोसाको केन्द्र बन्न सफल भएको छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरूमा सुझाव दिन समय कुर्नु नपर्ने बताउनुभयो । “कतै कमीकमजोरी भेटाउनुभएको छ । देख्नुभएको छ भने सुझाव दिन समय कुर्नु पर्दैन । सिधै भन्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “सरकारले सुझावहरूलाई आत्मसाथ गरेर अघि बढ्न चाहन्छ ।”

सो अवसरमा मुख्यमन्त्री आचार्यले आफु सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजनासहितका विषयहरू समेटिएको प्रतिवेदन पार्टीका प्रदेश ईञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाउनुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button