एपिएफ बन्यो एन्फा महिला लिग च्याम्पियन
काठमाडौँ । सविता राना मगरको २ गोलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ ।
अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो । २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर एपिएफले मात्र जितेको छ । आज एपिएफको जितमा सविताबाहेक सुरु लिम्बु र अनु लामाले समान १ गोल गरे ।
एपिएफले तेस्रो पटक पुलिसलाई हराएको हो । एपिएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो । बाँकी सबै खेल जित्न सफल टिम बन्यो । एपिएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै हो । पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकिएको थियो ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अङ्कका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो ।
अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो । जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो । शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो । उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्