शहिद दिवसमा निःशुल्क स्वास्थ्य शिविर: ९ सय २५ जनाले गरे परीक्षण

काठमाडौँ । काठमाडौँको कलङ्कीमा रहेको शहिद मेमोरियल अस्पतालले आज दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
अस्पताल परिसरमा आयोजित शिविरमा ९ सय २५ जनाले स्वास्थ्य परीक्षण गरी स्वास्थ्य परामर्श दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, आजको स्वास्थ्य शिविरमा सेवा लिने बिरामीले आगामी एक हप्तासम्म अस्पतालमा भर्ना भई शल्यक्रिया लगायतका उपचार सेवा लिनुपर्ने भएमा उपचार शुल्कको १५ प्रतिशत र अस्पतालको फार्मेसीबाट वितरण हुने औषधिमा १२ प्रतिशत छुट पाउने अस्पतालका सूचना अधिकारी छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

शिविरमा जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक कान तथा घाँटी रोग, बालरोग, मुटुरोग, छाला तथा यौन रोग, हाडजोर्नि तथा नशा रोग लगायतका स्वास्थ्य सेवा दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक वर्षको शहिद दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्