तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका पाँच जिल्लामा ‘रुपान्तरणका लागि सँगसँगै’ परियोजना लागु

सुर्खेत । कर्णालीका पाँच जिल्लाका १२ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै’ परियोजना शुरु भएको छ ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल) ले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिकीकरणको सवालमा प्रदेश स्तरीय सरोकारवालाहरूसँगको समन्वय बैठक मार्फत कर्णालीका सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट र डोल्पामा ‘रुपान्तरणका लागि सँगसँगै’ परियोजना शुरु भएको जानकारी दिएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक समानता तथा सामाजिकीकरणको सवालमा अधिकारको खोजीसँगै कर्तव्यको पालना गर्न सक्ने नागरिक तयार गर्नु आजको टट्कारो आवश्यकता रहेको बताउनुभयो ।

सुर्खेत जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनारले लैङ्गिक समानता तथा सामाजिकीकरणका लागि नागरिकलाई उत्पादनसँग जोडेर आर्थिक सबलीकरण गराउनतर्फ दातृ निकाय तथा गैरसरकारी संस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

ओरेक नेपालका कर्णाली प्रदेश संयोजक दिलकुमारी बुढामगरले ओरेक विगत ३४ वर्षदेखि मानव अधिकार तथा सामाजिक न्याय, पर्यावरणीय न्याय र महिला नेतृत्व लगायत पछाडि पारिएको समुदायको हक, अधिकारको क्षेत्रमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

युएन ओमेनको आर्थिक सहयोग रहेको परियोजनाको अवधि सन २०२४, १ जुलाईदेखि ३० जनवरी २०२६ सम्म रहेको छ । यद्यपि ! यो परियोजना कर्णालीमा तोकिएको समय भन्दा ७ महिना ढिलो सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button