दसौँ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप भोलिदेखि
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दशौं संस्करण भोलि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने हुनुभएको छ ।
स्थानीय बसाहा क्लबको आयोजनामा हुने प्रतियोगितामा आठ टिम सहभागी भएका छन् । प्रतियोगिता चौदण्डीगढी ४ बसाहा बर्खेडाँडास्थित नारदमुनि थुलुङ रङ्गशालामा हुने बसाहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिनुभयो ।
अध्यक्ष राईका अनुसार मङ्गलबार हुने उद्घाटन खेलमा सङ्कटा एफसी काठमाडौँ र बागमती युवा क्लब सर्लाही बीच प्रतिस्पर्धा हुने छ । दोस्रो खेलमा आयोजक बसाहा क्लब र झापा ११ फुटबल क्लब झापा आमुन्नेसामुन्ने हुने छन् ।
प्रतियोगिताको फाइनल २२ गते हुनेछ । विजेता टोलीले ५ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका प्रमुख सल्लाहाकार शेखर राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही ५ हजार नगदसहित कप र मेडल प्रदान गरिने छ ।
२००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्