मकवानपुरका २२ हजार बढी छात्रालाई एचपिभी खोप लगाइँदै
अधिकारी । मकवानपुरका करिब २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।

जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२ हजार ७१३ जना छात्रालाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार देशव्यापी अभियानका रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लाका कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदै छ ।
उहाँका अनुसार जिल्लाका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिनेछ । उहाँले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रालाई विद्यालयमै र विद्यालय नजाने करिब ६५४ जना छात्राहरूलाई खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वयंसेवक परिचालन गरिने छ । उहाँले प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक परिचालन गरिने बताउनुभयो । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाइने भन्दै कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र आगामी २० गतेभित्र सबै स्थानीय तहमा खोप पुग्ने समेत प्रमुख मिजारले बताउनुभयो ।
प्रमुख मिजारका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने लक्ष्य राखेको बताउनुभयो । महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्ने सरकारको योजना अनुसार यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउन समेत उहाँले आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्