तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ  : प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।

“अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा लगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button