तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बीमाकाे रकम रोकिँदा भेरी अस्पतालमा बिरामीको उपचार प्रभावित

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बीमाबापतको रकम समयमा नपाउँदा बिरामीको उपचारमा समस्या देखिएको जनाएको छ। 

स्वास्थ्य बीमा बोर्डले हालसम्म १० करोड रुपैयाँ भुक्तानी नगर्दा समस्या उत्पन्न भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नीराजन सुबेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, गत आर्थिक वर्ष २०८०÷०८१ को वैशाख, जेठ र असार महिनाको ४ करोड रुपैयाँ र चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस महिनासम्मको करिब ६ करोड रुपैयाँ गरी १० करोड रुपैयाँको भुक्तानी रोकिएको छ। 

बीमाबापतको रकम नपाउँदा औषधि, केमिकल लगायतका सामग्री ढुवानीकर्तालाई भुक्तानी दिन नसकेको र त्यसैले आवश्यक सामग्रीको आपूर्ति समेत प्रभावित भएको उहाँले बताउनुभयो।

स्वास्थ्य बीमा लागु भएपछि अस्पतालमा बिरामीको चाप बढेको भए पनि बीमाको रकम नआउँदा अस्पताल सञ्चालनमा नै कठिनाइ भएको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले स्वास्थ्य बीमाले गरिब तथा विपन्न समुदायलाई राहत पुर्याएको बताउँदै अस्पतालमा आएर छुट माग्नेहरूको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो।

बीमा बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँमा परिवारका पाँच सदस्यलाई १ लाख रुपैयाँसम्मको उपचार सुविधा दिने व्यवस्था गरेको छ। भेरी अस्पतालले यस कार्यक्रमलाई थप व्यवस्थित गर्न छुट्टै काउन्टर समेत सञ्चालनमा ल्याएको छ। तर, बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा अस्पतालका सेवाहरू निरन्तरता दिन चुनौती थपिएको छ।

सरकारले यस विषयमा चाँडै कदम नचाल्ने हो भने बिरामीको स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button