‘सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताउनुभयो ।
“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामाजिक सूचकका दृष्टिकोणले मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनाँै । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेका सङ्कल्पलाई पूरा गर्न सक्दछ”, उहाँले भन्नुभयो ।
चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरुरी रहेको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले धेरै नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेका र उच्च, मध्यम र सीमा क्षेत्रका गरिबी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाइ राख्नुभयो ।
उहाँले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसँग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामर्थ्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उहाँले भन्नुभयो, “स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि पर्याप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”
महासचिव पोखरेलले पूर्वाधार तयार नभएकाले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाइ राख्नुभयो । स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यान्वयन गर्ने भनाइ राख्नुभयो ।
महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्