बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : महामन्त्री थापा
नवलपरासी,पश्चिम् । पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने खालको विषयगत शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
प्रतापपुर गाउँपालिकास्थित सेमरीमा क्याम्पस भवन शिलान्यासका लागि आज पश्चिम् नवलपरासी आइपुग्नुभएका महामन्त्री थापाले राज्यले विद्यालय तहमा सबैभन्दा बढी लगानी गरे पनि बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गर्नुभयो ।
“नेपालका क्याम्पसहरू समुदाय स्तरबाट सञ्चालित छन्, पछिल्लो समय विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ त्यसैले क्याम्पस खोल्नेभन्दा पनि रोजगारी हासिल गर्ने सक्ने खालको विषय पठनपाठन गर्ने गरी क्याम्पसलाई चलाउन दीर्घकालीन योजना बनाउन आवश्यक छ”, महामन्त्री थापाले भन्नुभयो । रोजगारी र आम्दानी दिनसक्ने खालको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई थियो ।
सरकार आफैले कसैलाई रोजगारी दिन नसक्ने र यसका लागि वातावरण तयार पार्ने काम मात्रै सरकारको भएको उहाँले बताउनुभयो । अहिले नेपालको मुख्य समस्या रोजगारी हो, सरकारले रोजगारी दिन्छु भन्यो भने ५ लाख जनशक्तिलाई रोजगारी दिनुपर्छ तर रोजगारी निजी क्षेत्रले दिने हो त्यसको वातावरण सरकारले बनाइदिनुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।
“बजारको माग अर्कै छ हामीले अर्कै शिक्षा पढाइरहेका छौँ माग अनुसारको जनशक्ति उत्पादन हुने खालको शिक्षा लागू गर्नसके मात्रै क्याम्पस खोल्नुको सार्थकता हुन्छ”, महामन्त्री थापाले भन्नुभयो ।
आम विपन्न गरिब समुदायलाई लक्षित गरि यस क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित हुने लक्ष्यसहित क्याम्पस स्थापना गर्न लागिएको प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवार, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल, प्रदेश सांसद बिश्वप्रेम पाठकलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्