तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर : अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर। भारतबाट अवैध हतियार ल्याएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको UK 06 AR 0846 नम्बरको कारमा चेकजाँच गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

गएराति करिब ९:४५ बजेको समयमा भएको चेकजाँचमा, कारको चालक भारत उत्तराखण्डको उधमसिंहनगर जिल्लाका ३४ वर्षीय जीवन सिंह जिमेवालको कारको चालक सिट पछाडि लुकेको अवस्थामा पेस्तोल र म्यागेजिन फेला परेको थियो। पेस्तोलमा “Made by ATAK arms ltd for J.G.S cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619” लेखिएको थियो।

कारमा सवार अन्य तीन भारतीय नागरिकहरू ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button