शीतलहर र चिसोको चपेटा: नेपालगन्ज र खजुरामा विद्यालय बन्द, बालबालिकालाई सुरक्षित रहन आग्रह
बाँके। बाँके जिल्लामा बढ्दो चिसो र शीतलहरका कारण नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालयमा तीन दिनको जाडो बिदा दिएको छ। माघ ९ देखि ११ गतेसम्म नगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो। शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाका अनुसार अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले यो निर्णय गरिएको हो।
थापाले नगर प्रमुखको आदेशअनुसार बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले अभिभावकलाई बालबालिकालाई घरभित्र राख्न, तातो कपडा लगाउन, र चिसो हावा तथा शीतलहरबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। चिसोका कारण विद्यालयमा पठनपाठनमा समस्या र बालबालिकाको स्वास्थ्यमा जोखिम उत्पन्न भएकोले यस्तो कदम चालिएको बताइएको छ।
केही दिनदेखि बाँकेलगायतका जिल्लामा चिसो हावा र शीतलहरको प्रभावले जनजीवन अस्तव्यस्त बनेको छ। बिहान र साँझ अत्यधिक चिसो हुने र दिउँसो पनि घाम नलाग्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, र असक्त व्यक्तिहरूलाई बढी प्रभावित गरेको छ। सर्वसाधारणले अन्य पालिकाहरूले पनि विद्यालय बन्द गर्ने निर्णय लिनुपर्ने माग गरेका छन्।
खजुराकी स्थानीय रिता ढकालले भनिन्, “बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूको स्वास्थ्यमा असर पर्ने डर छ। अन्य पालिकाले पनि समयमै निर्णय गरेर बालबालिकालाई जोगाउनु पर्छ।” यस्तै, अभिभावकहरूले विद्यालय बन्द हुँदा बालबालिकाको स्वास्थ्य सुरक्षित रहने र उनीहरूलाई घरभित्रै राख्न सकिने बताएका छन्।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बालबालिकालाई बचाउन तातो कपडा लगाउन, पौष्टिक खाना खुवाउन, र अत्यधिक चिसो समयमा घरभित्र राख्न सुझाव दिएका छन्। साथै, घाम लागेको बेला बालबालिकालाई सूर्यको प्रकाशमा बस्न प्रेरित गर्न र शीतलहरबाट बचाउन विशेष ध्यान दिन अभिभावकहरूलाई आग्रह गरिएको छ।
चिसोबाट बालबालिकाको स्वास्थ्य जोगाउन पालिकाहरूले आवश्यक कदम चाल्नुका साथै सर्वसाधारणले पनि सतर्कता अपनाउनु पर्नेमा जोड दिइएको छ। अन्य पालिकाले पनि शीघ्र निर्णय गरेर बालबालिकालाई सुरक्षित राख्ने अवसर दिनुपर्नेमा स्थानीयले आग्रह गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्