गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नुभएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो ।
दुर्घटना तथा अकस्मात् बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पुर्याउने गरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५ बेडको आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गरिएको बताउनुभयो । स्वास्थ्य चौकीले अहिले प्रसूति सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्