मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गर्नुभयो ।
संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ, मन्त्री पौडेलले भन्नुभयो, सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।
मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवासमेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गर्नुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ, सुझाव दिनसमेत आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले गत साता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयका उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल बनाउनुभएको थियो ।
यसै सन्दर्भमा उहाँले सुरक्षा निकायका अधिकारीसँग मन्त्रालयमा बैठक गर्नुभएको हो । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
एयर एम्बुलेन्स र सर्पदंस उपचारका लागि सेनासँग सहकार्य प्रस्ताव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्धारका लागि प्रशंसा गर्नुभयो । तपाईँहरूको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ, उहाँले भन्नुभयो । मन्त्री पौडेलले आपतकालीन अवस्थामा अन्य नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले त्यसका लागि सघाइदिन सेनासँग आग्रह गर्नुभयो । ‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौँ,’ उहाँले भन्नुभयो, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’
मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा पनि गर्नुभयो । उहाँले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताउनुभयो । ‘तपाईँहरूले सर्पदंशका धेरै बिरामीको उपचार गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा जनशक्ति अभाव भएका स्थानमा सहकार्य गर्न सकिन्छ भने आवश्यक व्यवस्थाका लागि हामी तयार छौँ ।’
प्रतिक्रिया राख्नुहोस्