लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको बाटो खुल्यो
दाङ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । प्रदेश सरकार मन्त्री परिषद् बैठकले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रतिष्ठान गठनको अपरिहार्यता खुलाउँदै यसको गठनका लागि मन्त्री परिषदबाट निर्णय गर्नका लागि मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको थियो । मन्त्रालयको यो प्रस्तावलाई मन्त्री परिषद्ले स्वीकार गर्दै प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो ।
‘प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन अपरिहार्य छ,यसका लागि हामीले यसको गठनको अपरिहार्यता सहित मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेका थियौँ,’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भन्नुभयो – ‘यो प्रस्ताव उपर मन्त्री परिषद् बैठकबाट निर्णय भएको छ र अब प्रतिष्ठान गठनको बाटो खुलेको छ ।’
प्रदेशको भाषा, भेषभुषा, प्राचीन धर्म,मौलिक संस्कार,संस्कृति, कला गला, साहित्य, सङ्गीत र बौद्धिक सम्पत्ति जस्ता प्रदेशको मौलिकतासँग सम्बन्धित विषयलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन आवश्यक रहेको जनाइएको छ ।
प्रतिष्ठान गठनले लुम्बिनी प्रदेशको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ ।
प्रदेश भित्रका भाषा, धर्म, जाती, मौलिक संस्कृति, कला, सङ्गीतको संरक्षण गर्दै यसको प्रचार प्रसार गरिने भएकाले प्रदेशको मौलिकपन हेर्नका लागि पर्यटकहरू भित्रने मन्त्री न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्