तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’

मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताउनुभएको छ ।

न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गर्नुभयो ।

उहाँले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्य गरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरूको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार गृहले विकास निर्माणका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

न्यू सृष्टि दैनिकका प्रधान सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समितिका सदस्य शङ्कर खरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सबै पक्ष क्रियाशील हुनु जरुरी रहेको उल्लेख गर्दै यसबाट नेपालीबीच एकता कायम हुने धारणा राख्नुभयो । त्यसअवसरमा उत्कृष्ट पत्रकारिताको पुरस्कार रासस मोरङ (बेलबारी)का विवेक मिश्रलाई प्रदान गरियो ।

अध्यक्ष दाहालले अभिनेता विजय बराल, अभिनेत्री नीता ढुङ्गाना, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, क्रिकेट खेलाडी ललित राजवंशी, ओलम्पिक विजेता पलिसा गोवर्द्धन, गायक एवं सङ्गीतकार बाबुल गिरी, नेपाली प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का, जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साह लगायतलाई पुरस्कृत एवं सम्मान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button