तपाईँ सुन्दै हुनुहुन्छः

फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

काठमाडौँ । दलित महिला सङ्घ (फेडोे)ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ ।

फेडोद्वारा यहाँ आज आयोजित कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गर्नुभयो ।

फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।

सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आम सञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुञ्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खासगरी सरकारी र निजी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिताको निम्ति काम गर्ने उहाँको भनाइ छ ।

महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अङ्ग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राख्नुभयो ।

महिलावादी दलित सङ्गठन (फेडो) नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोसका साथ दलित महिलाको समूहद्वारा सन् १९९४ मा एक गैर लाभकारी, गैर राजनीतिक र धर्मनिरपेक्ष गैरसरकारी संस्थाको रूपमा स्थापना भएको थियो । यो दलित अधिकार र महिला अधिकारको एकैसाथ वकालत गर्ने अग्रणी संस्था हो । यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ । ‘न्यायपूर्ण र समतामूलक समाज’को दर्शनका साथ फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रबिन्दुमा राख्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button