देशलाई बलियो राजनीतिक दल आवश्यक : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताउनुभएको छ । आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले जथाभाबी पार्टी खोल्न ‘एजेण्डा’ ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताउनुभयो । उहाँले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पार्नुभयो । उहाँले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताउनुभयो । उहाँले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने बताउनुभयो ।
विश्वमणि सुवेदीले सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रताको अनुभूति नभएपछि परित्याग गरेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीलाई श्रमजीवीको सङ्गठन बनाउने बताउनुभयो । सो कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदीसहित महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी, सचिव नेपोलियन चेपाङ, संस्थागत उपाध्यक्ष नरेन्द्र साउद लगायत प्रेस चौतारीमा प्रवेश गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्