तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट : सुदूरपश्चिमको तेस्रो जित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले कर्णाली प्रदेशविरुद्ध १० विकेटको सानदार जित दर्ता गर्‍यो । जितसँगै तीन खेलमा ६ अङ्क जोडेको सुदूरपश्चिम समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । दोस्रो पराजय बेहोरेको कर्णालीको समान खेलबाट एक अङ्क छ ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले र लुम्बिनी प्रदेशलाई ६५ रनले हराएको थियो । यता एपिएफसँग १११ रनको हार बेहोरेको कर्णालीले गण्डकीसँगको खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँडेको थियो ।

कर्णालीले प्रस्तुत गरेको २१ रनको लक्ष्य सुदूरपश्चिमले मात्रै १.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित पाँच ओभरमा सात विकेट गुमाउँदै २० रनको योगफल तयार पारेको थियो । बिहीबारको वर्षाले आउट फिल्डमा पानी जमेका कारण टस ढिलो भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो ।

अर्को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित दर्ता गर्‍यो । जितसँगै लुम्बिनीले तीन खेलमा तीन अङ्क जोड्दा पराजित गण्डकीको चार खेलबाट एक अङ्क छ ।

गण्डकीले प्रस्तुत गरेको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button