तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी राजमार्ग अवरुद्ध

बाँके  । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ । नेपालगन्ज-नरैनापुर-बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मङ्गलवार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी-७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बि.क.ले मृतकका परिवार र स्थानीय बासिन्दाहरूले आज बिहान साढे १० बजे देखि हुलाकी राजमार्ग अवरुद्ध गरेको जानकारी दिनुभयो । मृतकका परिवारहरुका मागका विषयमा वार्ता पनि चलिरहेको उहाँले बताउनु भयाे ।

स्थानीय बासिन्दाले सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् भने आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन् । क्षतिपूर्तिका सहमति हुन नसक्दा परिवारले मृतकको शव बुझेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button