तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को

सुनसरी । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जु ताल, २२ बिघा, अन्य तालतलैयालगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो ।

पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथलेश यादवले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जु तालमा बिदाका दिन पाँच देखि १०  समूहसम्म वनभोजका लागि आउने गरेका छन् ।

यहाँका सबै वनभोजस्थलमा पानीको सुविधा पुर्‍याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थलो बनेको स्थानीय व्यवसायी कृष्ण श्रेष्ठको भनाइ छ । 

वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतीक्षालयसमेत निर्माण गरिएको छ । कोशी टप्पुमा वनभोजसँगै विभिन्न चराको अवलोकन गर्नुका साथै अर्ना, हात्ती जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न आउने गरेको आरक्ष क्षेत्रका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button