मेलुङका किसानलाई गाई पालनमा सहयोग
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले दुग्ध व्यवसाय प्रवर्धनको लागि गाई पालन गर्न आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम सुरु गरेको छ ।
गैर सरकारी संस्था हेफरसँगको सहकार्यमा पशुपालन व्यवसाय अन्तर्गत गाई पालनको लागि सहयोग कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताउनुभयो ।
मेलुुङ गाउँपालिका वडा नम्बर– २ मा पहिलो चरणमा १८ वटा उन्नत जातको गाई खरिदमा गाउँपालिकाले सहयोग गरेको र अब छिट्टै थप १६ वटा गाई खरिदमा सहयोग हुने पालिका अध्यक्ष थोकरले बताउनुभयो ।
हेफरसँगको सहकार्यमा सुरु भएको कार्यक्रममा गाई खरिदको लागि पालिकाले १७ लाख रुपैयाँ छुट्टाएको वडा नम्बर– ४ का वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयो ।
पालिकाले छनोट गरेको किसानलाई एक लाखसम्मको गाई खरिद गर्दा पचास प्रतिशत पालिकाले उपलब्ध गराउने र एक लाखभन्दा बढीको गाई खरिद गर्दा पचास हजार रुपैयाँसम्म पालिकाले दिने वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
किसानहरूलाई गाई खरिदको लागि प्राविधिक सहयोग, गाईको उपचार र नियमित जाँचको लागि सहयोग र समूह निर्माण गरी विभिन्न तालिम, सहुलियत दरमा ऋण लिन सहयोग जस्ता कुरामा हेफरले पालिकासँगको समन्वयमा किसानसँग सहकार्य गर्दै आएको हेफरका कार्यक्रम संयोजक सन्तोष भट्टराईले बताउनुभयो ।
विगत सात वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका मेलुुङ गाउँपालिका वडा नम्बर–२ का वीरबहादुर तामाङ पालिकाले गाई पालनमा सहयोग गरेर किसानहरूलाई प्रोत्साहित गरेको बताउनुहुन्छ । विगत सात वर्षदेखि गाईपालन गर्दै आएका वीरबहादुरले पालिकाको सहयोगमा भर्खरै एक लाख ४० हजारमा होलिस्टिक जातको गाई ल्याएको बताउनुभयो ।
पालिकाको सहयोगमा ल्याएको समेत आफूसँग अहिले ६ वटा गाई भएको वीरबहादुरले बताउनुभयो । दैनिक ४८ लिटरसम्म दूध बिक्री गर्दै आउनुभएका वीरबहादुर पशुपालन, तरकारी खेती, मिल सञ्चालन जस्ता व्यवसायमा सक्रिय हुनुहन्छ । व्यवसायबाट गाउँमै बसेर वार्षिक २० लाखसम्म कमाई हुने उहाँले बताउनुभयो ।
मेलुुङ– २ साँखेका रामहरि अधिकारीले पनि गाउँपालिकाको सहयोगमा एक लाख २० हजारमा गाई खरिद गर्नुभएको छ । अब आफूसँग दुई वटा गाई भएको उहाँले बताउनुभयो । पालिकाको सहयोगपछि गाई पालनमा किसानहरूको आकर्षण बढेको र आम्दानी पनि राम्रै हुने गरेको उहाँको भनाई छ ।
किसानहरूलाई पशुपालन व्यवसायमा सक्रिय गर्दै पालिकालाई दुग्ध निर्यातको थलो बनाउन तीन ठाउँमा दूध सङ्कलन केन्द्र समेत राखिएको पालिका प्रमुख हिराकुमार थोकर बताउनुहुन्छ ।
पालिकाकै सहयोगमा कल्लेरी, ढलेको वर र उपल्लो गाँउमा दूध सङ्कलन केन्द्र स्थापना गरिएको पालिका प्रमुख थोकरले बताउनुभयो । पालिकाबाट दैनिक दुई सय ५० लिटरसम्म दूध सङ्कलन हुने र त्यो चरिकोटस्थित दोलखा दुग्ध डेरीमा लगिने पालिकाले जनाएको छ । किसानहरुले दोलखा दुग्ध डेरीबाट प्रतिलिटर ५७÷५८ रुपैयाँसम्म पाउने वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्