तपाईँ सुन्दै हुनुहुन्छः

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९  करोड ५० लाख भन्दा बढीको कारोबार

पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मङ्गलवार समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई  धन्यवाद दिँदै महोत्सवमा राखिएको गौतम बुद्धको मूर्तिलाई उपयुक्त दुई ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचार्यको भनाइ रहेको छ । वहाँले  यस क्षेत्रमा   २१ ओटा विभिन्न परियोजना जस्तै  बेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्वारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वान गर्दै पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी को रुपमा विकास गर्न पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्ता लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउँदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै  सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरू, विभिन्न जात जातिहरू, आमा/महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथ वासीहरूको एकताका कारण उक्त सफलता सम्भव भएको बताए ।

कार्यक्रममा प्रेस रजिष्ट्रार गण्डकी प्रदेशकी  विमला भण्डारीले  व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी  बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन्   ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकीय स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे ।

पुस १८ गतेदेखि सञ्चालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरूले अवलोकन गरेका छन् भने सोही  अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी  दर्शकहरूले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् ।

महोत्सवमा निर्माण गरिएको बुद्धको मूर्ति  सहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित पहिलो पटक भएको हाजिरी जवाफ प्रतियोगिता रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहहरूको आफ्नो झाँकी, र्‍याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरूको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए ।

विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं  कलाकारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, र  विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button