पिएसबीले लोकतन्त्रको सबलीकरणमा योगदान दिनुपर्नेमा दलका नेताहरूकाे जोड
काठमाडौँ । सार्वजनिक सेवा प्रसारणले आफ्ना कार्यक्रम र समाचार मार्फत समृद्ध राष्ट्रको निर्माण र लोकतन्त्रको सबलीकरणमा योगदान दिनुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरूले जोड दिनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भका अवसरमा आज आयोजित विषयगत छलफलमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले समाजका सबै वर्ग र समुदायलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा ल्याउन पिएसबीले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
छलफलमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले सार्वजनिक सेवा प्रसारणले देशको दूर–दराज सम्मका नागरिकको आवाजलाई केन्द्रमा राखेर कार्यक्रम र समाचार सामग्रीहरु प्रसारण गर्नुपर्ने बताउनुभयो ।

एमाले मुख्य सचेतक बर्तौलाले सार्वजनिक सेवा प्रसारणले सत्य तथ्य र निष्पक्ष सूचना प्रवाह गरी समाजलाई गलत सूचनाको दुष्प्रभावबाट बचाउन योगदान पुर्याउनुपर्नेमा पनि जोड दिनुभयो ।
सार्वजनिक सेवा प्रसारणले जनता र सरकारबीच पुलको रुपमा काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै एमाले मुख्य सचेतक बर्तौलाले सरकार र राजनीतिक दलहरूलाई समेत गलत काम गर्दा खबरदारी गरी जनपक्षीय मुद्दामा उभ्याउन पिएसबीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेतृ कमलादेवी पन्तले रेडियो नेपाल र नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुँदा नागरिकको सूचनाको हकको प्रत्याभूत गर्दै समृद्धि र सुशासन कायम गर्न भूमिका खेल्न सक्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति समेत रहनुभएका काँग्रेस नेतृ पन्तले सङ्घीयताको व्यवस्थित र सबल कार्यान्वयन, लैगिंक समानता, सामाजिक न्याय लगायतका मौलिक हकको कार्यान्वयनलाई परिणाममुखी बनाउन सार्वजनिक सेवा प्रसारणले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेतृ पन्तले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी बनेको पिएसबीको मुख्य ध्येय अनुसार अझ बढी जनताका समस्यालाई उजागर गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले बदलिँदो परिवेश अनुसार जनताका आवश्यकता पुरा गर्न सक्ने गरी आफ्नो भूमिकामा परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

व्यवस्था परिवर्तनका लागि नेपाली राजनीतिले सात दशक भन्दा लामो समय खर्चिएको र अव जनताको जीवनस्तर परिवर्तनका लागि मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै नेता पौडेलले समाजमा के भइरहेको छ भन्ने जानकारी मात्र नभई के हुनुपर्छ भन्ने तर्फ सरोकारवालाहरूको ध्यान केन्द्रित गर्न पिएसबीको महत्वपूर्ण भूमिका हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक सन्तोष परियारले लोकतन्त्रलाई निरन्तर अभ्यासमा लैजान राजनीतिक दल र सार्वजनिक प्रसारण संस्थाले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारणले समाजको रूपान्तरणमा बलियो खम्बाका रुपमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुहुँदै नागरिकका आर्थिक–सामाजिक अधिकार सुनिश्चित गरी पछाडि परेका वर्ग र समुदायलाई समाजको मूल धारमा ल्याउन भूमिका खेल्न सक्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै छलफलमा जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सार्वजनिक सेवा प्रसारणले जनताका आवाजलाई प्राथमिकता दिई सन्तुलित र निष्पक्ष रुपमा मुद्दाहरूको उठान गर्नुपर्ने बताउनुभयो ।
सांसद झाले जनताले व्यक्त गर्ने र चाहेका कुराहरूका बारेमा राजनीतिक दलहरूमाथि समेत आवश्यक दबाब सिर्जना गर्न पिएसबीले प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्