देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताउनुभएको छ । साथै उहाँले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिनुभयो ।
साबिक नेपाल टेलिभिजनमा आज भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा उहाँले पिएसबी सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले विविधताभित्र एकता कायम गर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गर्नुभयो ।
विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । लोकतन्त्रको बिगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पिएसबी प्रारूपमा आइपुग्दा यसको कार्यशैली समयानुकूल परिमार्जन गर्नुपर्छ भन्नुभयो । पिएसबीले सुशासनका लागि सरकारलाई झकझक्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावना समेट्न उहाँले सुझाउनुभयो । “अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ”, सरकारका प्रवक्ता गुरुङले भन्नुभयो,“अनि मात्रै यो सार्वजनिक सेवा प्रसारणको सार्थकता रहन्छ ।” उहाँले जनतालाई सही सूचना दिने र सरकारको तथ्यपरक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्