माघेसङ्क्रान्तिको अवशरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरूको घुँईचो
गुल्मी । मकर (माघेसङ्क्रान्ति) को अवशरमा गुल्मीको पवित्र धार्मिक स्थल रुरुक्षेत्रमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्न र पुजाअर्चनाका लागि गुल्मी लगायत टाढा-टाढादेखि आएका भक्तजनहरूको बिहानैदेखि नदी किनारमा बाक्लो उपस्थिति रहेको छ ।
मकर सङ्क्रान्तिको अवशरमा रुरु क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्न र पूजाआजाका लागि बिहानदेखि बेलुका अबेरसम्म नदी र मन्दिरहरूमा भक्तजनहरूको घुँईचो लाग्ने गर्दछ । रुरुक्षेत्रमा रहेको कालीगण्डकी नदीमा स्नान गरेपछि मानिसहरू नजिकै रहेको हृषीकेश मन्दिरमा पुगेर पूजाआजा अर्चना गर्ने परम्परा छ
रुरुक्षेत्र चारधाम मध्यको एक धाम मानिन्छ । यस पवित्र धार्मिक स्थल पुगेर पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भइन्छ भन्ने जनविश्वास छ । त्यसै आस्था र विश्वासका कारण कालीगण्डकीमा स्नान गर्न भक्तजनहरूका लागि आजको दिन विशेष मानिन्छ । यहाँ विषेशगरि जेठी, माइली र कान्छी गरि तिन दिनसम्म मकर सङ्क्रान्ति पर्व मनाइन्छ ।
मकर सङ्क्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । छ दिनसम्म सञ्चालन हुने माघे सङ्क्रान्ति मेलामा व्यापारका लागि मानिसहरू टाढाटाढाबाट रिडीमा आईसकेका छन् ।
मेलामा अर्घाखाँची, प्युठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका जिल्लाहरूबाट मानिसहरू व्यापारका लागि रुरुक्षेत्रमा आइपुगेका छन् । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेण्डस क्लब र फ्रेण्डस क्लब रिडीको संयुक्त आयोजनामा रिडीमा छ दिनसम्म मेला सञ्चालन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्