वातावरणमैत्री जीवन प्रणाली अवलम्बन गर्न जरुरी : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणमैत्री खेती तथा जीवन प्रणाली हरेकले अवलम्बन गर्न जरुरी रहेको बताउनुभएको छ ।

लक्ष्मीनियामा आयोजित “नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धान खेतीका लागि वैकल्पिक भिजाउने र सुकाउने प्रविधि” विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग तथा ग्लोबल इन्भायरोमेन्ट प्रोटेक्सन सेन्टर एवं भ्यालु नेटवर्क भेन्चरको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री सिंहले अहिले रासायनिक मलको अत्यधिक प्रयोग हुने गरेका कारणले पनि माटोको उर्वरा शक्तिमा नकारात्मक असर पार्ने गरेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वातावरणमैत्री खेतीमा जोड दिनका लागि प्रदेश सरकारले रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो ।

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले चुरे तथा वन विनाशका कारण वातावरणमा नकारात्मक असर पारेकाले चुरेको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
ग्लोबल इन्भायरोमेन्ट प्रोटेक्सन सेन्टरका अध्यक्ष सन्दीप कुमार कन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपालमा जलवायु अनुकूल धानको खेतीका विषयमा विज्ञ निलम शर्मा रिजाल र मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्णले प्रस्तुति गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्