एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो ।
यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्