नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक
काठमाडौँ । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठक विभिन्न निर्णय तथा सहमति गर्दै सम्पन्न भएको छ ।
यही पुस २६ र २७ गते काठमाण्डौमा सम्पन्न बैठकमा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनमा लगाइएको भार वहनको सीमा हटाई भारतीय मालवाहक गाडी सरह आवत जावत गर्न दिन भारतीय पक्ष सहमत भएको छ ।
भारतमा निकासी हुने नेपाली वस्तुहरू (जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तु) को सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाण–पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ ।
बैठकमा नेपाल–भारत बीचको पारवहन सन्धि संशोधन गरी विराटनगर तथा भैरहवाबाट रेल मार्फत सबै किसिमका कार्गो ढुवानी गर्न पाउने व्यवस्थाका लागि नेपालले पठाएको लेटर अफ एक्सचेन्ज चाँडो टुङ्ग्याउने सहमति पनि भएको छ ।
तेस्रो मूलकसँग व्यापारका लागि भारतको उडिसामा रहेको धाम्रा र गुजरातमा रहेको मुन्द्रा पोर्ट प्रयोग गर्ने, कोलकत्ता एयर पोर्टबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न पाउने र तोकिएको मार्गमा समस्या उत्पन्न हुँदा सहज रुपमा पारवहन मार्ग परिवर्तन गर्न पाउने विषयसँग सम्बन्धित विभिन्न लेटर अफ एक्सचेन्जहरुलाई छिटो टुङ्ग्याउने विषयमा सहमति भएको छ ।
तेस्रो मुलुकबाट आयातका क्रममा हाल रेलमा लागू भएको Electronic Cargo Tracking System सेवालाई सस्तो एवं प्रभावकारी बनाउने तथा सडकमार्गबाट हुने ढुवानीमा समेत सो सेवा जडान गरी ट्रान्सीपमेन्ट प्रणाली लागू गर्ने सहमति भएको छ ।
त्यसै गरी बैठकमा नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनका लगि बैठक छिट्टै आयोजना गर्ने विषयमा छलफल तथा सहमति भएको छ ।
नेपाल–भारत नाकाको नेपालगन्ज एकीकृत जाँच चौकी, काँकडभिट्टास्थित आईसीडी र निर्माण हुन गई रहेको दोधारा–चाँदनी एकीकृत जाँच चौकीसम्म रेल सेवा सञ्जाल विस्तार गर्न नेपालले गरेको अनुरोधमा भारतीय पक्षबाट दुवै देशबीच अन्तर–आबद्धता बढाउन रेल सेवा सञ्जाल विस्तारका लागि आवश्यक सर्वेक्षण गरिने प्रतिबद्धता प्राप्त भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
भारत सरकारको अनुदान सहयोगमा बैतडीको झुलाघाट र डडेल्धुराको शिर्समा नेपाल भारत आवत जावत तथा व्यापार विस्तार गर्न सहज हुने गरी महाकाली नदीमा दुईवटा मोटरबेल पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको कार्यलाई तीव्रता दिने विषयमा पनि छलफल तथा सहमति भएको छ ।
बैठकमा धनगढी–गौरीफन्टा सीमा नाकामा भारततर्फ व्यापार पूर्वाधारको स्तरोन्नति गर्न नेपालले गरेको आग्रह बमोजिम भारतीय पक्षबाट निर्माण गर्ने योजनामा रहेको एकीकृत जाँच चौकी निर्माण तथा सीमासँग जोडिएका सडक स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ । भन्सार सहयोग सम्बन्धी २१ औँ महानिर्देशकस्तरीय बैठक सन् २०२५ को फेब्रुअरी भित्र बस्न दुवै पक्ष सहमत भएका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभाग र ब्यूरो अफ इन्डियन स्टान्डर्ड बिच तथा नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरण बिच गुणस्तर परीक्षण, सर्टिफिकेशन, पारस्परिक मान्यता जस्ता विषयमा पारस्परिक कार्य अघि बढाउन र क्षमता विकासमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल तथा सहमति भएको छ ।
भारतको प्लान्ट क्वारेन्टाइन आदेश सूचीमा नेपालका थप फलफूल, तरकारी र जडीबुटीहरू समावेश गरिदिनका लगि नेपाली पक्षले गरेको अनुरोधमा भारतीय पक्ष सकारात्मक रहेको छ ।
११ जनवरी २०२५ मा काठमाडौँको चन्द्रागिरिमा नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न भएको र उक्त मञ्चका कार्यान्वयनयोग्य सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।
अन्तरसरकारी समितिको आगामी बैठक भारतमा गर्ने सहमति भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा उद्योग मन्त्रालयका सचिव सुनिल बर्थवालले गर्नुभएको थियो । बैठकमा दुवै देशका वाणिज्य, कृषि तथा खाद्य प्रविधि, गुणस्तर नियन्त्रण, क्वारेन्टाईन, भन्सार, औषधी व्यवस्था, सडक पूर्वाधार र रेल, ल्याण्ड पोर्ट लगायतका सरकारी निकायका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्