इलाममा कृषि महोत्सव : कृषिमा लगानी हुन नसकेको गुनासो
इलाम । कृषिमा अग्रणी जिल्ला इलाममा दुई दिने कृषि महोत्सव सुरु भएको छ ।
इलाम नगरपालिकाको आयोजनामा भएको महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनमा राखिएको छ । इलाम उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय र कृषि ज्ञान केन्द्रको समेत सहकार्य गरेका छन् ।
इलाममा नगदे बालीको विकासका लागि लगानी अझै हुन नसकेको कार्यक्रममा सहभागीले बताएका छन् । प्रदेश सरकारले चिया, अलैँची, सुन्तला, अदुवा बालीमा देखिएको समस्या समाधानमा लगानी नगरेको प्रदेश सांसद गोविन्द गिरिले औंल्याउनुभएको छ । महोत्सव तथा प्रदर्शनीको उद्घाटनको अवसरमा वक्ताहरूले कृषिलाई व्यावसायिक बनाउन प्रमुख बालीमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने सुझाएका छन् ।
नगर प्रमुख केदार थापा, कृष्ण पौडेल प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ समेतका वक्ताहरूले कृषिका लागि बजारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
प्रदर्शनीमा विभिन्न कृषक समूह , उद्योग र किसानहरुले उत्पादनको प्रदर्शनी गरेका छन् । तरकारी फलफूल, कन्दमूल, मह, चिया, सातु, ढाका कपडा फुल लगायत प्रशोधन सामग्री पनि प्रदर्शनीमा राखिएको छ । केरा बाट बनाइएको परिकार समेत राखिएको छ।
महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सघाउ पुग्ने सहभागी किसानहरुले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्