‘मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य’
देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो ।
नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रुवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताउनुभयो । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उहाँले कार्यकर्ताको माध्यमबाट ध्रुवीकरण गर्न एमालेको तयारी रहेको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गर्नुभयो । “बिआरआई सम्झौताको मस्यौदा नेपाली कांग्रेस र एमालेको सहमतिमा गरिएको हो । नेपालको इतिहासमै पहिलोपटक नेपाल आफैले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ”, उहाँले भन्नुभयो, “यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । मुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।”
प्रतिक्रिया राख्नुहोस्