तीन जना युवा मिलेर शुद्ध पिउने पानी उद्योग सञ्चालनमा
गुल्मी । गुल्मीमा तीन जना युवा मिलेर जिल्लामै पहिलो शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उद्योग स्थापना भएसँगै स्थानीय केहीले रोजगारी समेत पाएका छन् ।
रेसुङ्गा नगरपालिका–३ को बेहोरेस्थित छल्दी खोला किनारमा ‘रेसुङ्गा जल’ उद्योग प्रालि नामले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएको हो । रेसुङ्गा नगरपालिका–२ निवासी विश्वास पुन, वडा नम्बर–३ का सन्तोष कुँवर, वडा नम्बर–६ का राम पन्थी मिलेर पिउने पानी उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
जिल्लाको रेसुङ्गाको काखमा रहेको पानीको मूलबाट प्रशोधन गरेर रेसुङ्गा पानी बजारमा बिक्री वितरणका लागि सुरु गरेको छ । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले १४ सय लिटर प्रतिघण्टा उत्पादन गरिरहेको छ । उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटरको जारमा शुद्ध पिउने पानी बजारमा ल्याएको रेसुङ्गा जल उद्योग प्रालिका सञ्चालक राम पन्थीले बताउनुभयो ।
शुद्ध पिउने पानीको २० रुपैयाँ प्रति बोतल खुद्रा मूल्य तोकिएको छ । पानीको १ दर्जनको प्याकेटलाई १६० रुपैयाँ होलसेल रेटमा बिक्री भइरहेको छ । जिल्लामै केही गरौँ भनेर उद्योग सञ्चालनमा ल्याइएको रेसुङ्गा जल उद्योग प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताउनुभयो ।
चिनियाँ प्रविधिको अत्याधुनिक स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । माध्यमिक तहसम्म एउटै विद्यालयमा पढेका तीन जना युवाले करिब २ करोड लगानीमा पानी उद्योग सञ्चालनमा गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्