तपाईँ सुन्दै हुनुहुन्छः

युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई संवृद्ध बनाउने अभियानमा लाग्नु पर्छ: उपाध्यक्ष घिमिरे

काठमाडौँ  । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई संवृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।

सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले  आयोजना गरेको दौड प्रतियोगितामा बोल्नुहुँदै उपाध्यक्ष घिमिरेले युवाहरूले सकारात्मक र रचनात्मक काम मार्फत इतिहास बनाउन आग्रह गर्नुभएको हो ।

‘हिजो हाम्रो पुस्ताले राजनैतिक परिवर्तनका लागि  नेतृत्वदायी भूमिका खेल्यो’ , उहाँले भन्नुभयो ‘आजको युवा  पुस्ताले  भोलिको नाति पुस्ताले गर्व गर्ने इतिहास निर्माण गर्न रचनात्मक काम गर्नु पर्दछ,  तपाईँहरूले हल्लाका पछि लागेर भन्दा निरन्तर कर्ममा विश्वास गर्नु पर्दछ ।’

उपाध्यक्ष घिमिरे लामो समयको सङ्घर्षपछि  ल्याएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भएपनि  खराबीहरू लाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन अहिलेका युवाहरूले योगदान गर्नुपर्छ भन्नुभयो। ‘अबको नव निर्माण र व्यवस्थालाई प्रभावकारी बनाउन तपाँइहरुको महत्वपूर्ण योगदानको आवश्यकता छ’ उहाँको भनाई थियो ।

उहाँले भौतिक रुपमा शहर सफा गर्ने काम रचनात्मक र महत्वपूर्ण भएको बताउँदै देशभित्रका हरेक नागरिकको मन सफा हुनुपर्छ भन्नुभयो । अहिले काठमाण्डौमा सरसफाई नै सबैभन्दा चुनौतीको विषय बनेकोले  यसको दीर्घकालीन समाधान खोज्न काठमाडौँ उपत्यका भित्रका सबै स्थानीय तह र तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने कुरामा उपाध्यक्ष घिमिरेको जोड थियो ।  उहाँले  फोहोरलाई घर वा स्रोतबाट नै कुहिने र नकुहिने बर्गमा वर्गीकरण गरेर व्यवस्थापन गर्ने कुरामा ढिलाइ गर्न हुँदैन भन्नुभयो ।

मायादेवी फाउन्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता रहेको थियो । उपाध्यक्ष घिमिरेले  दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने पहिलो समूहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ १५ हजार पुरस्कार पनि वितरण गर्नुभयो ।

कार्यक्रम माया देवी फाउन्डेसनका अध्यक्ष केपी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button